पोखरा । प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौँ र आठौँ तहका ६० जना अधिकृत कर्मचारीको ३० दिने सेवाकालीन तालिम पोखरामा सम्पन्न भएको छ। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको उक्त तालिम पूरा गरेका सहभागीलाई दीक्षान्त समारोहमा प्रमाणपत्र प्रदान गरियो।
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव तीर्थराज चिलुवालले कर्मचारीतन्त्रलाई सरकारको स्थायी संयन्त्रका रूपमा व्याख्या गरे। जनताले प्रशासनिक सेवा प्रवाहबाटै सरकारको उपस्थिति महसुस गर्ने भएकाले जनमुखी, पारदर्शी र सुशासनयुक्त सेवा दिनुपर्ने दायित्व कर्मचारीकै भएको उनले बताए। तालिमबाट प्राप्त ज्ञान, सिप र क्षमतालाई कार्यक्षेत्रमा पूर्ण निष्ठाका साथ उतार्न उनले अधिकृतहरूलाई आग्रह गरे।
नागरिकमैत्री सेवा प्रवाहमा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले स्पष्ट पारे। कार्यस्थलमा ज्ञान र सिपका साथै स्वविवेक र अन्तरदृष्टिको पनि उत्तिकै आवश्यकता पर्ने धारणा उनले राखे।
कार्यक्रममा गण्डकी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी सचिव डा प्रेरणा सेंढाई भट्टराईले प्रदेशमा राष्ट्रसेवक कर्मचारीहरूको क्षमता विकास र संस्थागत सबलीकरणमा प्रतिष्ठानको भूमिकाको प्रशंसा गरिन्। उनले प्रशासनिक दक्षता र प्रभावकारी सेवाका लागि यस्ता नियमित तालिम अपरिहार्य हुने उल्लेख गरिन्।
दीक्षित अधिकृतहरूको तर्फबाट उत्कृष्ट अंक हासिल गर्ने खेम कुमारी पन्त र महेश काफ्लेले आफ्ना अनुभव र प्रतिबद्धता व्यक्त गरे। तालिमले व्यावसायिक क्षमता बढाउन ठूलो सहयोग पुर्याएको भन्दै उनीहरूले यहाँ सिकेका कुरालाई आ-आफ्नो निकायमा लागू गरेर छिटो-छरितो सेवा दिने बताए।
समारोहमा प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले स्वागत र अर्का निर्देशक सुजन नेपालले दीक्षितहरूलाई बधाई ज्ञापन गरे। प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमका विज्ञहरूको समेत सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता सुरेन्द्रबाबु तिवारीले गरेका थिए भने सञ्चालन शाखा अधिकृत प्रशान्त पौड्यालले गरे।
Source: https://www.samadhannews.com/2026/10/09/152932/